बेद प्रसाद घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले विजयादशमी तथा बडादशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
विजयादशमीको टीकाका दिन मान्यजनबाट टीका र जमरासँगै प्राप्त हुने आशीर्वादले जीवनलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भण्डारीले नम्रता, सद्भाव, प्रेम र विवेकलाई जीवनमा आत्मसात् गर्नुपर्ने सन्देश दिनुभएको छ ।
उहाँले ठूलो बने पनि नम्रता नछोड्न, सद्भाव बढाउन, प्रेम बाँड्न र घृणा घटाउन आग्रह गर्नुभएको छ । त्यसैगरी, अरूबाट निरन्तर सिकिरहन, कसैलाई कमजोर नठान्न, मन शान्त राख्न तथा आदर र सम्मानलाई जीवनको सम्पत्ति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
यी आशीर्वाद शिक्षा मात्र नभई विचारलाई शक्तिमा रूपान्तरण गर्ने मन्त्र भएको उल्लेख गर्दै भण्डारीले सबैमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।