पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै उनले दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।
पूर्वराजा शाहको सचिवालयले सूचना जारी गर्दै यस वर्षको विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जनाएको छ। गत भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको र नागरिकले दुःख भोग्नुपरेको अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको हो।
सचिवालयका अनुसार प्राकृतिक विपत्तिका कारण सयौँको ज्यान गएको, हजारौँ मानिस विस्थापित भएको तथा ठूलो भौतिक क्षति भएको परिस्थितिमा आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको छ।