रामेछाप, कात्तिक ८ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालमा रोजगारीको अभाव प्रमुख समस्याका रूपमा रहेको बताउँदै त्यसको समाधानमार्फत आर्थिक समृद्धिको आधार तयार गर्ने योजना आफ्नो पार्टीसँग रहेको बताउनुभएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टीको गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारी सिर्जना, ऊर्जा उत्पादन र हरित अर्थतन्त्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।
घिसिङले वातावरण संरक्षणसँगै आर्थिक तथा सामाजिक विकासलाई गति दिन हरित क्रान्तिको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जलविद्युत्, स्वच्छ ऊर्जा र उपलब्ध प्राकृतिक स्रोतको सदुपयोगबाट देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।
राजनीतिक वादको बहसमा मात्र सीमित नभई आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्दै उहाँले उज्यालो नेपाल पार्टीले मध्यमार्गी वैचारिक बाटो अवलम्बन गरेको बताउनुभयो । कुनै पनि अतिवादमा नलागी सबै वर्ग र समुदायलाई समेटेर देशको समुन्नतिका लागि काम गर्ने उहाँको भनाइ थियो ।
देशको आर्थिक विकासको लाभ सीमित व्यक्तिमा मात्र केन्द्रित नभई तल्लो वर्गका नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै घिसिङले आर्थिक रूपान्तरणले सबैका लागि प्रगति र अवसरको बाटो खोल्नुपर्ने बताउनुभयो । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई तीन प्रमुख आधार मानेर आफ्ना कार्यक्रम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
उज्यालो नेपाल पार्टीको सरकार बने पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना रहेको घिसिङले बताउनुभयो । त्यस्तै, प्रतिमहिना २०० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउन सकिने उहाँको दाबी थियो ।
विद्युत् उत्पादनबाट प्राप्त हुने लाभ नागरिकसम्म पुर्याउने उद्देश्यले प्रत्येक नेपालीलाई जलविद्युत् आयोजनाको एक हजारदेखि दुई हजार कित्तासम्म शेयर निःशुल्क उपलब्ध गराउने योजना रहेको पनि उहाँले सुनाउनुभयो । नेपालमा बसोबास गर्ने नागरिकलाई कम्तीमा एक हजार र विदेशमा काम गरी विप्रेषण पठाउने नेपालीलाई कम्तीमा दुई हजार कित्ता शेयर उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो । यस्तो शेयरबाट नागरिकलाई दीर्घकालीन आर्थिक सुरक्षा र पेन्सनसरहको आम्दानीको आधार तयार गर्न सकिने उहाँले बताउनुभयो ।
घिसिङले आगामी २० वर्षमा नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना औँल्याउनुभयो । उत्पादित विद्युत्मध्ये ३० हजार मेगावाट भारत र बङ्गलादेशमा निर्यात गर्न सके वार्षिक २० देखि ३० खर्ब रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँको दाबी थियो । देशभित्र खाना पकाउन तथा अन्य प्रयोजनमा ग्यास र तेलको सट्टा विद्युत् प्रयोग बढाउन सके आयातमा खर्च हुने ठूलो रकम बचत गर्न सकिने उहाँले बताउनुभयो ।
नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै उहाँले यसको प्रयोगबाट सवारीसाधन र जहाज सञ्चालन गर्न तथा युरिया मल उत्पादन गर्न सकिने बताउनुभयो । यसले ऊर्जा, यातायात र कृषि क्षेत्रको विकासमा योगदान पुर्याउन सक्ने उहाँको भनाइ थियो ।
कृषि उत्पादन, हरित पर्यटन र डिजिटल अर्थतन्त्रको विकासमा पनि जलस्रोतको महत्त्वपूर्ण भूमिका रहने घिसिङले उल्लेख गर्नुभयो । जलस्रोतको उपयोगबाट उत्पादन र सेवा क्षेत्र विस्तार गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यसहित पार्टी स्थापना गरिएको उहाँले बताउनुभयो ।
उहाँले ऊर्जा उत्पादन र त्यसको प्रभावकारी उपयोगलाई आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउन सके रोजगारी सिर्जना, आयात प्रतिस्थापन र राष्ट्रिय आम्दानी वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।