समाचार

ललिता देवी गुरुङद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

By Bala Adhikari

October 06, 2026

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ ललिता देवी गुरुङले पार्टीको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङले मंगलबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँ कांग्रेस सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो ।गण्डकी प्रदेशमा जन्मिनुभएकी गुरुङ लामो समयदेखि गरिब, विपन्न, शोषित तथा पछाडि पारिएका वर्ग, महिला, आदिवासी जनजाति र भुइँमान्छेका सवालमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले जीविकोपार्जनका लागि संघर्षरत नागरिकका समस्या राज्य तथा राजनीतिक नेतृत्वसमक्ष पुर्‍याउँदै आउनुभएको छ ।

महिला, आदिवासी जनजाति, विपन्न तथा पछाडि पारिएका समुदायका सवाललाई पार्टीको नीति, कार्यक्रम र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समेट्ने उद्देश्यले उम्मेदवारी दिएको गुरुङले बताउनुभएको छ । केन्द्रीय सदस्यमा निर्वाचित भए सामाजिक रूपमा पछाडि पारिएका समुदायका मुद्दालाई नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउन पहल गर्ने उहाँको प्राथमिकता छ ।गुरुङको उम्मेदवारीले कांग्रेसको नेतृत्वमा आदिवासी जनजाति महिलाको प्रतिनिधित्व तथा पछाडि पारिएका समुदायका सवाललाई केन्द्रीय तहमा स्थान दिने विषयलाई पनि बहसमा ल्याएको छ ।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य तथा पदाधिकारीका लागि असोज १९ गते उम्मेदवारी दर्ता भएको हो । महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ ।