समाचार

सुनकोसी नदीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्त

By Bala Adhikari

October 18, 2026

 

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक सुमो गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको सुमो गाडी कात्तिक १ गते राति करिब २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो। दुर्घटनापछि नदीमा आधा डुबेको अवस्थामा गाडी फेला परेको थियो।

दुर्घटनामा ज्यान गुमाएका तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि बेपत्ता भएका अन्य तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिहरूको समेत पहिचान खुल्न बाँकी छ।

गाडीमा चालकसहित १० जना सवार रहेको बताइएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा चार जनाको उद्धार गरिएको स्थानीय राकेश पोखरेलले जानकारी दिनुभयो।

उद्धार गरिएका घाइतेमध्ये खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई र उहाँकी १२ वर्षीया छोरी शिवानी राई रहेका छन्। त्यस्तै, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिष्ट पनि घाइते भएका छन्।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण र मृतक तथा बेपत्ताको पहिचान खुलाउने प्रयास भइरहेको छ।