काठमाडौँ, साउन २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा काठमाडौँका विभिन्न स्थानबाट तीन बम फेला परेका छन् ।
चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको जनाउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको बताए । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी खटाइएको बताइएको छ ।