कभर स्टोरी

पुनःनिर्माण प्राधिकरणको सिइओमा ज्ञवाली नियुक्त

By Bala Adhikari

August 15, 2018

काठमाडौं, साउन ३० । सरकारले सुशील ज्ञवालीलाई पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक नियुक्त गरेको छ ।

करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले पुनः प्राधिकरणको जिम्मेवारी प्रदान गरेको हो । सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए ।

त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो । ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए । त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो । आफू बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन छ ।

मंगलबारको निर्णयसँगै ज्ञवाली प्राधिकरणको पाँचौं सिइओ बनेका छन् । व्यक्तिका हिसाबले भने उनी तेस्रो मात्र हुन् । प्राधिकरणको सिइओ हुनुअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशकसमेत थिए ।