आर्थिक

बाबियाचौरमा टिमुरका बिरुवा वितरण

By Bala Adhikari

July 07, 2017

म्याग्दी, असार २३ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले बेनी नगरपालीका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ । तोरीपानीको भुमेसिद्ध टिमुर सञ्जालमा आबद्ध रहेका १५० कृषकलाई चार हजार टिमुरका बिरुवा वितरण गरेको हो ।

टिमुरको उत्पादनमा वृद्धि गरी अन्तर्राष्ट्रि«य बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाउन बिरुवा वितरण गरेको संघका कार्यबाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । जोमसोम, पोखरा, चितवन, काठमाडौँको तारे होटलका साथै अष्टे«लिया, अमेरिका र जर्मनीमा टिमुर निकासी हुने गरेको छ । संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत पछिल्लो पाँच वर्षयता तोरीपानी, नारच्याङ र दग्नामका कृषकलाई १९ हजार ५०० बिरुवा वितरण गरिएको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धचरण दाहालले तेस्रो मुलुकमा निकासी गरी अन्तराष्ट्रिय बजार विस्तारका लागि टिमुरको प्रशस्त सम्भावना देखिएकाले खेतीलाई जोड दिन कृषकलाई आग्रह गरे । सो कार्यक्रममा तोरीपानीका कृषकलाई टिमुरखेती प्रविधिका बारेमा सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले तालिम दिएका थिए । कृषक सागर बानियाँले टिमुरको बिरुवा र फलको उच्च माग रहेकाले बजारको समस्या नरहेको बताए । उनका अनुसार गत वर्ष तोरीपानीबाट एक हजार ४०० केजी टिमुर निकासी भएको छ । कृषकले टिमुरको बिरुवाको मूल्य बढाउनुपर्ने र निकासीका लागि अनुमति प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका, कृषि प्रसार अधिकृत बेदनाथ पन्थीले बाँझो जमिनलाई उपयोगमा ल्याउनका लागि टिमुरखेती उपयुक्त हुने बताए ।