काठमाडौँ, भदौ ४ । शिक्षाको गुणस्तरमा त्रिभुवन विश्वविद्यायले विशेष ध्यान दिनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । उनले भने– उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्, अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ सबैले ध्यान दिनु जरुरी छ ।
उनले परम्परागत रुपमा विश्वविद्यालय चलेकाले अब नयाँ तरिकाले शिक्षा दिनुपर्ने विचार व्यक्त गरे । विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा शिक्षामन्त्री पोखरेलको जोड छ । शिक्षा व्यापार नभई सेवा भएकाले सोहीअनुसार काम गर्नुपर्ने उनले बताए । मन्त्री पोखरेलले दुई वर्षभित्र साक्षर नेपाल बनाइने घोषणा गरे ।
विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन उनले अनुरोध गरे । यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए ।
क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५/७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाउने बताएकी छिन् ।
आरआर क्याम्पसबाट स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सो अवसरमा पुरस्कार वितरणसमेत गरिएको थियो ।