कभर स्टोरी

पदाधिकारीको नियुक्ति गर्ने कार्यका लागि सूचना प्रकाशित

By Bala Adhikari

August 21, 2018

काठमाडौं, भदौ ५ । विभिन्न ८ संवैधानिक आयोगमा ४० पदाधिकारीको नियुक्तिको प्रक्रिया सरकारले अगाडि बढाएको छ ।

संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ ।

सरकारले सो पदका लागि योग्यता पुगेका व्यक्तिहरुको रोष्टर तयार गर्नका लागि सूचना प्रकाशित गरेको हो । सूचनामा योग्यता पुगेका उम्मेदवारहरुलाई संवैधानिक परिषद्मा आवेदन दिन अनुरोध गरिएको छ । सूचना जारी भएको ७ दिनभित्र आवेदन दिन सकिने छ । हाल ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य नियुक्त गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार मागेको परिषद् सचिवालयले बताएको छ ।

उम्मेदवारहरुले अनलाइनमार्फत् आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । अनलाइनमार्फत आवदेन दिन प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गएर संवैधानिक परिषद्को लिंकमा गई आफूले चाहेको पदमा दरखास्त आह्वान गर्न मिल्ने व्यवस्था गरेको परिषद् सचिवालयले जानकारी गराएको छ ।