कभर स्टोरी

ट्याक्सी चालकका लागि आयो नयाँ नियम

By Bala Adhikari

August 22, 2018

काठमाडौँ, भदौ ६ । उपत्यकामा ट्याक्सी चलाउने ड्राइभरका लागि आजबाट नयाँ नियम आएको छ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी संघको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा रहको यातायात व्यवस्था विभागले जनाएको छ ।

महाशाखा र व्यवसायी संघको आयोजनामा सुन्धाराबाट ५०० ट्याक्सीका चालकलाई ज्याकेट लगाएर उक्त कार्यको थालनी गरिएको छ । कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले त्यस्तो ज्याकेट लगाएपछि यात्रुलाई चालक पहिचान गर्न सहज हुने बताएका छन् ।

फ्लोरोसेन्ट ज्याकेट अँध्यारोमा टल्कने हुँदा टाढैबाट ट्याक्सी चिन्न सहज हुने उनको भनाइ छ । महाशाखा प्रमुख पन्तले सो ज्याकेटले व्यवसाय र व्यवसायीलाई अनुशासित र मर्यादित बनाउनुको साथै यात्रुलाई पनि सुविधा हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पोशाकले पेशागत मर्यादा र अनुशासन देखाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सरकारले ट्याक्सी पार्किङका लागि आवश्यक ठाउँ नभएको भन्दै पूर्वाधार पूरा गरेर नियम लागू गर्न सरकारसँग अनुरोध गरेका छन् ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले सरकारले ट्याक्सीको भाडा निर्धारण र पार्किङका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् । महाशाखाले उपत्यकामा सञ्चालित ट्याक्सीलाई फ्लोरोसेन्ट ज्याकेट लगाउनका लागि एक महिनाको समय दिएको छ ।

उक्त अवधिमा सबै ट्याक्सीले ज्याकेट नलगाए कानून अनुसार कारवाही गरिने महाशाखाले चेतावनी दिएको छ । यसअघि महाशाखाले माइक्रो तथा ठूला सवारी साधनका चालकलाई पोशाक लगाउनुपर्ने नियम ल्याएको भएपनि लागू भने हुन सकेको छैन ।