कञ्चनपुर जिल्लाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कानुन बमोजिम हदैसम्मको कारवाही र पीडितलाई न्यायको माग राखी केही दिनदेखि आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि हिजो र आजको गोलि प्रहर बाट कयौ घाइते भएका छन् ।
आज भाद्र ८ गते शुक्रबार दोस्रोपटक गोली चलाउँदा १३ वर्षीय चेतन भट्टको निधन भएको र अन्य दर्जनौँ प्रदर्शनकारी घाइते भएको जानकारी पाउँदा म अत्यन्त दुखित र चिन्तित भएको छु । यसै महिना भित्र मात्र ५ बर्षको अबोध बालिका देखि ८० वर्षको बृद्धा सम्म २३ जना भन्दा बढीको बलात्कारको समाचार निरन्तर आइरहेका छन् ।
यो लजास्प्रद, सभ्य समाजलाई नै चुनौती दिने घटनाहरु प्रति सरकार मुकदर्शक र रमिते भएर न्याय माग्न आएका जनतामाथि नै उल्टै गोली चलाउने दमनकारी निरङ्कुश चरित्रले स्थानीय जनतामा थप क्षोभ र तनाब उत्पन्न गर्नुका साथै समग्र समाजमा सन्त्रास फैलिएको छ ।
यस्ता जघन्य अपराध बिरुद्ध न्यायको लागि आन्दोलित सर्वसाधारणलाई सत्तारुढ पक्ष बाट राजनीतिकरण गरेको आरोप लगाउनु घटनाको सत्यतथ्यलाई ढाकछोप गर्ने र दोषीलाई कानुनको कठघरामा नल्याउने मनसाय बाट अभिप्रेरित देखिन्छ। स्वस्फूर्त रुपमा न्याय माग्न गएका नागरिकहरू माथि गोली चलाउन आदेश दिने वर्तमान सरकारको हर्कतमा वास्तविक अपराधी उम्काउने र घटनाको यथार्ततालाई लुकाउने बदनियतको आभास पाइएकोमा म यसको जोडदार निन्दा र भत्सर्ना गर्दछु ।
काम गर्न दिएन भनेर फलाक्ने सरकारलाई अपराधी दन्ड दिन कसले रोकेको छ ? काम भन्दा दम्भ अहंकार र आर्कालाई दोषारोपण मात्र गरेर पन्छिने प्रवृतिले सुशान र कानुनि राज्य स्थापना हुदैन । अपराधीलाई संरक्षण गर्ने सरकारको नियत यसअघि पनि पटकपटक उजागर हुँदैआएको यथार्थ हो । चाहे व्यक्तिहत्याको अपराधमा कैद सजाय भुक्तानी गरिरहेको दोषीलाई ससम्मान रिहा गरेर होस् वा कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी प्रमाणित भएको तर फरार भएर बेलायतमा बसोबास गरिरहेको व्यक्तिलाई नेपाल सुपुर्दगी गर्न उदासिनता देखाएर होस् ।
कञ्चनपुर लगायत देशका विभिन्न भागमा भएको बलात्कार जस्तो जघन्य आपराधिक घटनाका वास्तविक दोषीलाई सार्वजनिक गरी स्थानीय जनजीवनलाई सामान्य अवस्थामा फर्काउनुका साथै आजको गोली काण्डमा निधन भएका किशोर चेतन भट्टको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुका साथै राज्यले क्षेतिपूर्ति देवोस भन्ने मेरो जोडदार माग छ ।