काठमाडौं, भदौ ११ पक्षपात गर्नु नै कम्युनिष्टहरुको धर्म भएको । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा गरिएको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको भन्दै कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताएका छन् ।
उनले नेपाली कांग्रेस अहिले धेरै खस्केको भन्दै पार्टीलाई माथि उठाउने गरी प्रशंसनीय काम गरेर जनताको मन जित्न अनुरोध गरेका छन् । ‘कांग्रेस अहिले धेरै खस्केको बताउँदै उनले भने– तपाईंहरुले न्यायोचित र प्रशसनीय काम गरिदिनुभयो भने कांग्रेस माथि उठ्न सक्छ ।
गाउँ–गाउँमा अधिकार नभएर भ्रष्टाचार बढेको आफूले सुनेको बताउँदै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधिहरुलाई पारदर्शी रुपमा जनताको सेवामा लाग्नुपर्नेमा जोड दिएका छन् ।
सरकार स्वेच्छाचारी भएको भन्दै उनले बजेट बाँडफाँट र अहिले कर लिने विषयमा त्यसलाई पुष्टि गरेको जिकिर गरे । बजेट बाँडफाँट केको आधारमा गर्ने भन्ने सन्दर्भमा वित्तीय आयोग गठन नगर्नु त्यसैको उदाहरण भएको उनको भनाइ छ ।