कभर स्टोरी

एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि नेपाली टोली मलेसियातर्फ

By Bala Adhikari

August 27, 2018

काठमाडौँ, भदौ ११ । नेपाली राष्ट्रिय टोली एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न खेल्नका लागि आज मलेसिया गएको छ । आजदेखि मलेसियामा एशिया कप छनोट खेल शुरु हुँदैछ ।

श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि नेपाली टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले बताए । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पछि पारेको थियो ।

नेपाल उच्च मनोवलका साथ मलेसिया जान लागेको सिवाकोटीको भनाइ छ । एशिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् ।

नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते छनोट खेल खेल्नेछ । सो प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ ।

उक्त प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रले सहभागिता जनाउनेछन् ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी रहेका छन् ।