मनोरञ्जन

‘नाइँ नभन्नू ल–५’ को व्यापार आक्रामक

By Bala Adhikari

August 27, 2018

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नू ल–५’ ले आक्रामक व्यापार गरेको छ । लगातार परेको सार्वजनिक विदाले यो चलचित्रको व्यापारमा ठूलो प्रभाव देखिएको छ । तीन दिने विकेन्डमा चलचित्रले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् ।

यो चलचित्रले प्रदर्शनको पहिलो दिन सोचेअनुसारको व्यापार गर्न नसकेको भए पनि शनिवार र आइतवार भने आक्रामक व्यापार गर्न सफल भएको छ । काठमाडौं वितरक सुनिल मानन्धरले चलचित्रले बम्पर ओपनिङ गरेको भन्दै शनिबार र आइतवारको कलेक्सन यस बर्षकै उच्च रहेको जनाएका छन् ।

देशभरका सय बढी हलमा लागेको यस चलचित्रले रिलिजको दिन शुक्रबार देशभर ४६ लाख रुपैयाँ व्यापार गरेकोमा शनिबार बढेर १ करोड २ लाख रुपैयाँको कलेक्सन गर्न सफल भयो ।

तेस्रो दिन ७४ लाख रुपैयाँ कमाएको वितरकबाट रिपोर्ट प्राप्त छ । तीन दिने विकेन्ड कलेक्सन जोड्ने हो भने ‘नाइँ नभन्नू ल ५’ ले २ करोड २२ लाखको कलेक्सन गर्न सफल भएको छ । १ करोड ३५ लाखमा निर्माण भएको यो चलचित्रको कलेक्सन रफ्तार यस्तै रहे दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्ने देखिन्छ ।

सोमवार गाईजात्राको उपत्यकामा सार्वजनिक विदा भएका कारण चौथो दिन पनि चलचित्रको कलेक्सन उच्च हुनेमा वितरक मानन्धर विश्वस्त छन् । उनका अनुसार, ‘नाइँ नभन्नू ल–५’ हेर्ने दर्शकको फ्लो मल्टिप्लेक्स भन्दा सिंगल थिएटरमा बढी छ ।

चलचित्रको सुखद ओपनिङले उत्साहित बनेका निर्देशक विकासराज आचार्यले ‘नाइँ नभन्नू ल–६’ समेत बनाउन जोस बढेको बताएका छन् । दर्शकले यसको छैटौं श्रृंखला कहिले बन्छ भनेर सोध्न थालिसकेको बताउँदै उनले भने– यो हाम्रो लागि ठूलो सफलता हो ।

इलामको मनोरम लोकेसन, छायांकन र कलाकारहरुको दमदार अभिनयले ‘नाइँ नभन्नू ल–५’ उत्कृष्ट बनेको दर्शकको प्रतिक्रिया छ । चलचित्र हेर्ने अधिकांशले बाल कलाकार सेड्रिना शर्माको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनी चलचित्रको मेरुदण्डको रुपमा छिन् ।

यस चलचित्रमा निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रबाट अभिषेक नेपालले अभिनेतामा डेब्यु गरेका छन् ।