कभर स्टोरी

बसपार्क चार दिनका लागि बन्द

By Bala Adhikari

August 28, 2018

काठमाडौँ, भदौ १२ । पछिल्लो समय लगातार परिरहेको बर्षाले अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भारका लागि बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले उक्त बसपार्क आजदेखि चार दिनका लागि बन्द गरिएको जनाएका छन् । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले जनाएका छन् ।

यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउनका लागि उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथीको आवागमनलाई ध्यानमा राख्दै उनीहरुको यात्रा सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि सम्पूर्ण निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागेको बताएको छ ।

यही भदौ १३ देखि १५ गतेसम्म सो प्रणाली लागू हुने महाशाखाको भनाइ छ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ । एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताएका छन् ।

धेरै सवारीसाधन चल्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा प्रभाव पर्ने भएकाले महाशाखाले यस्तो प्रणाली लागू गर्न लागेको हो ।

काठमाडौँ उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालित छन् ।