कभर स्टोरी

साहित्यमा सुन्दरता मात्र नभएर समृद्धिको पनि वर्णन गर्नुपर्ने

By Bala Adhikari

August 28, 2018

काठमाडौँ, भदौ १२ । साहित्यमा सुन्दरतालाई मात्र नभई समृद्धिलाई उतिकै मात्रामा समेटिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।

साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेको र अब चाहिँ साहित्यले समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न उनले आग्रह गरेका हुन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको जनाए ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको शुरुवात भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई अनुरोध गरे ।

कवि हरिभक्त कटुवालले जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उनले भने– मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस् । मबाट अख्तियारको दुरुपयोग हुँदैन । मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन् । भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ ।

राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ भन्दै प्रधानमन्त्री ओलीले यस्तो भूमिकाले परोक्ष रुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने बताए ।