कभर स्टोरी

उपत्यकामा पानी आउने मिति नलम्ब्याउन निर्देशन

By Bala Adhikari

August 28, 2018

काठमाडौँ, भदौ १२ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सम्पूर्ण जनतामा स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच पुर्याउन निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट आउने पानी उपत्यकामा वितरण कार्यको मिति नलम्ब्याउन र मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेका काम चाडो सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले स्वच्छ खानेपानी मौलिक हकका रुपमा रहेको हुँदा उपत्यकाका धारामा आउने पानीको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था मिलाउन तथा मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने सम्बन्धमा गरिनुपर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउनका लागि पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै मेलम्चीको पानीको प्राप्तिपछि काठमाडौँको पानीको ढल व्यवस्थापन गर्न बनेका कार्ययोजना १५ दिनभित्र समितिलाई उपलब्ध गराउन, खानेपानी मन्त्रालयले सम्पादन गर्ने कामका बारेमा हालसम्म कानून बनेको नपाइएकाले सो सम्बन्धी विधेयकको मस्यौदा तयार गरी पेश गर्न र स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश एवं स्थानीय तह तथा अन्तरमन्त्रालयगत समन्वय गर्न पनि बैठकले निर्देश गरेको छ ।