कभर स्टोरी

सरकारसँग लोकतान्त्रिक र कम्युनिष्ट दुवै चरित्र देखिएन : सिटौला

By Bala Adhikari

August 30, 2018

काठमाडौं, भदौ १४ । वर्तमान सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्र मध्ये कुनै पनि नदेखिएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन ।

बुधबार जिपि कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रको आयोजना र संस्थाको अध्यक्ष बलदेव तिमल्सिनाको अध्यक्षतामा राजधानीमा ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथिका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारसँग लोकतान्त्रिक र कम्युनिष्ट चरित्र नदेखिएको बताएका हुन् ।

सिटौलाले भने– ‘संविधानको बाटो टेकेर बनेको सरकार त्यही बाटोलाई दुर्घटना गराउँने तर्फ अघि बढ्दैछ, यस्तो अवस्थामा राजनीति दुर्घटनातर्फ मुलुक जान्छ, सरकारसँग लोकतान्त्रिक चरित्र पनि छैन, कम्युनिष्ट चरित्र पनि देखिएन । मुलुकमा आउँने जस्ता सुकै खालका खतरा रोक्ने ताकत कांग्रेससँग मात्रै भएको उनको भनाइ छ ।

नेता सिटौलाले भने– विगत देखि नै खतरा रोक्ने लिगेसी कांग्रेसले बोक्दै आएको हो, अहिले पनि त्यो ताकत कांग्रेससँग मात्रै रहेको र त्यही लिगेसीबाट राजा फालेर गणतन्त्र आयो । उनले वर्तमान सरकार संविधानले देखाएको बाटोमा टेकेर बनेको तर अहिले संविधानले देखाएकै बाटोलाई विराउँनेतर्फ अघि बढिरहेको बताए ।

सिटौलाले राज्य मै हुँ भन्ने दम्भका कारण बर्तमान सरकार ६ महिनाको छोटो अवधिमा नै बढी आलोचित भइसकेकोसमेत उनको दाबी छ । कांग्रेसले संस्कार, नीति र व्यवहारमा परिवर्तन गरे मात्र लोकतन्त्रलाई बलियो बनाउँन सकिने भन्दै उनले नेतृत्वले पहिले आफ्नै शैली सुधार गर्नु पर्ने तब मात्र लोकतन्त्र जोगाउँन कम्युष्टिसँग लड्न सकिने विचार प्रस्तुत गरे ।

युवा नेता तथा सांसद गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली प्रजातन्त्र प्राप्तिका लागि नभएर कम्युनिष्ट व्यवस्थाका लागि जेल बसेको बताए ।

‘फुलबारी भनेको तोरीबारी होइन, कम्युनिष्ट व्यवस्थाका लागि आन्दोलन गरेर जेल बसेर प्रजातन्त्रको हुंकार गर्ने व्यवहारले लोकतन्त्र बलियो हुँदैन, सरकारबाटै लोकतन्त्रमाथी खतरा छ– थापाले भने । पछिल्लो समय प्रधानमन्त्रीको क्षमता माथि नै प्रश्न उठ्न थालेको भन्दै उनले भने संमृद्धीको डेलिभरी गर्न सक्नुहुन्न ।

थापाले पार्टी भित्रको पुरानो सोच बदल्ने अभियानलाई तिव्रता दिंदै लोकतन्त्र जोगाउँन सक्ने कांग्रेसको निर्माणमा सबै एक ढिक्का भएर लाग्न अनुरोध गरेका छन् ।

अर्का नेता प्रदिप पौडेलले सरकारले संविधानले प्रष्ट गरेको व्यवस्था माथि नै आक्षेप लगाउँने काम गरेको भन्दै व्यवस्था कमजोर भए निर्वाचन पद्धतिको प्रक्रिया नै अन्त्य हुन सक्ने खतरा रहेको प्रस्ट पारे । ‘लोकतान्त्रिक मान्यता माथिको प्रहारले सरकार कमजोर हुँदै छ, संविधानले सुनिश्चित गरेको व्यवस्थामाथि नै आक्षेप लगाउनु व्यवस्था कमजोर बनाउँने षड्यन्त्र हो,’ नेता पौडेलले भने ।

पौडेलले सरकारका कारण, कम्युनिष्ट एकताका कारण र कमजोर प्रतिपक्षका कारण लोकतन्त्र माथी चुनौती देखा पर्न थालेको बताएका हुन् ।

कार्यक्रममा मुलुकको वर्तमान राजनीतिक अवस्थाका विषयमा केन्द्रिय सदस्य शिव हुमागाइ, सांसद धना खतिवडा, नेबि संघ महामन्त्री कुन्दन राज काफ्ले सहितका नेताहरुले आ–आफ्ना धारणा राखेको कार्यक्रम आयोजक संस्थाका प्रतिनिधि बिपिन अधिकारीले जनाए ।