जिल्ला-विशेष

नवलपुर क्षेत्रलाई अलग्गै जिल्ला बनाउने प्रधानमन्त्रीद्वारा प्रतिबद्धता

By Bala Adhikari

July 09, 2017

नवलपरासी, असार २५ । नवलपरासीको नवलपुर क्षेत्रलाई अलग्गै जिल्ला कायम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले त्यस्तो खालको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम गरिनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटको क्रममा नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गर्नका लागि ध्यानाकर्षण गराएका छन् । नवलपुर क्षेत्र भूगोलमा पनि ठूलो र जनसंख्या पनि धेरै रहेको लगायतका विषय राखेपछि प्रधानमन्त्रीले अब भिन्नै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएको सांसद श्रेष्ठले बताए ।

सो टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइराला, एमालेका केन्द्रीय सदस्य तिलक महत, काँग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक, घनलाल सापकोटा रहेका थिए । संविधानमा उल्लेखित सात प्रदेशले नवलपरासी जिल्लालाई बर्दघाट त्रिवेणीदेखि पूर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासी गरी दुई भागमा विभाजन गरेको थियो । जस अन्तर्गत प्रदेश नं ४ र ५ गरी दुई चरणमा दुवै प्रदेशको निर्वाचनसमेत सम्पन्न भइसकेको छ ।