कभर स्टोरी

एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित

By Bala Adhikari

August 31, 2018

काठमाडौँ, भदौ १५ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

आज सम्पन्न भएको पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बताएको छ ।

बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए । यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी पहिलो चरणबाट नै असफल भए ।

आठ जना खेलाडी नेपालबाट जुडोमा सहभागि भएका थिए । यही भदौ २ गतेदेखि शुरु भएको एशियाली खेलकूद शनिबारबाट सकिनेछ । जारी प्रतियोगितामा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपाल प्याराग्लाइडिङमा एउटा मात्र रजत पदक हात पार्न सफल भएको छ ।