काठमाडौं, भदौ १८ । आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजी गर्नुपर्ने माग गर्दै आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने भएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । आइतबारदेखि आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनको पहिलो दिन देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका थिए ।
उनीहरुका आन्दोलनका कार्यक्रमहरु अनिश्चितकालका लागि तय गरिएका छन् । सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत आज प्रशासन बन्दको काम रहेको छ ।
डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै चार वटा संशोधनको माग गरेको छ ।
संघले सार्वजनिक गरेको विरोध आगामी कार्यक्रम अन्तर्गत सरकारको गलत कदमको विरोध गर्दै भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द गरिने बताइएको छ ।
भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने र भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द कार्यक्रम रहेको छ भने भाद्र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको निर्णय छ ।