कभर स्टोरी

संघीयता कार्यान्वयनमा सरकार उदासिन : प्रदीप पौडेल

By Bala Adhikari

September 03, 2018

काठमाडौं, भदौ १८ । वर्तमान सरकार संघीयता कार्यान्वयनमा उदासीन देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले आरोप लगाएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा जनसम्पर्क समिति कोरियाद्वारा आयोजित अन्तरक्रियामा बोल्दै उनले सरकारका काम कारवाहीहरु संघीयता अनुकुल नभएको बताएका छन् । प्रदेशले केन्द्रलाई नटर्ने र केन्द्रले प्रदेशसँग समन्वय नगर्ने पछिल्ला घटनाले संघीयतामाथि सरकारको नियतमा गम्भीर प्रश्न चिह्न खडा बनाएको उनको भनाइ छ ।

विशेषगरी दुई नम्बर प्रदेशमा भइरहेका घटनातर्फ संकेत गर्दै पौडेलले बेलैमा सजग नहुने हो भने गम्भीर स्थिति आउन सक्ने संकेत गरे । काठमाडौंको खाल्डा खुल्डी पुर्न नसक्ने वर्तमान सरकारले जनतालाई रेल र पानीजहाजको चलाउने दिउँसै सपना देखाउनु भनेको हास्याँस्पद कुरा भएको पौडेलेले उल्लेख गरे ।

शान्ति सुरक्षाको अवस्था इतिहासमै अहिले सबैभन्दा नाजुक रहेको भन्दै उनले शान्ति र समृद्धिको कोरा नारा दिएर जनतालाई नछक्याउन सरकारलाई चेतावनी दिएका छन् ।

चिकित्सक, पत्रकार, व्यवसायी लगायत सबैलाई आतंकित पारी सरकारले कसरी समृद्धिको यात्रा तय गर्ने सपना देखेको उनको प्रश्न छ ।

उनले फरक प्रसंग निकाल्दै कोरियामा रहेका नेपालीहरुलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन् । तीन दशकको अवधिमा दक्षिण कोरियाले समग्र क्षेत्रमा गरेको विकास अकल्पनीय रहेको भन्दै उनले नेपालले पनि कोरियाबाट केही पाठ सिक्नुपर्ने बताए ।

पौडेलले भने– ३० वर्ष अघि नेपालले दक्षिण कोरियालाई खाद्यान्य उपलब्ध गराउने अवस्था थियो, तर आज कोरिया हाम्रै आँखा अगाडि कहाँबाट कहाँ पुगिसक्यो । हामी भने हर क्षेत्रमा निरन्तर तल परिरहेका छौं, अब पनि देश नसुध्रने हो भने भावी पुस्ताले हामीलाई धिर्काने छ ।