आर्थिक

कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने : अर्थमन्त्री

By Bala Adhikari

September 03, 2018

राजविराज, भदौ १८ । जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

आज सप्तरी सदरमुकाम राजविराजमा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच तत्काल समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्था हटाउने जनाए । मन्त्री खतिवडाले भने– एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ, अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।

करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने उनको भनाइ छ । विदेशी ऋणबाट देशको विकास सम्भव नहुने भएकाले करको दायरा वृद्धि गर्नुपर्नेमा उनको जोड छ । मन्त्री खतिवडाले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुनेमा जोड दिएका छन् ।

उनले भने– वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको छ, त्यस्तो होइन, स्थानीय तहको विकास गर्नुपर्ने भएकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको करको सदुपयोग गर्नुपर्छ । करका बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनले बताए ।

कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन नपाइने डा खतिवडाको भनाइ छ । सो अवसरमा डा खतिवडाले करदाता सेवा कार्यालयमा आई प्यान नम्बर लिने सेवाग्राही अमृता झा, सुनिता देव र शम्भुनन्द चौधरीलाई प्रमाणपत्र वितरण गरे ।

आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले करदाताको सेवालाई दृष्टिगत गरी राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको जनाए । उनले करदाता र करको दायरा वृद्धि हुँदै गएपछि आन्तरिक राजश्व कार्यालय राजविराजमा स्थापना गरिने बताए ।