नेपालगञ्ज, भदौ २५ । पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
जननायक बिपी कोइरालाको हिजो परेको १०५औँ जयन्तीका अवसरमा आज आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टी भित्र हुने अन्तरघात प्रवृतिलाई सबै एकजुट भएर निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले भने– बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति वृद्धि हुँदै गएको, अनुशासनमा नबस्ने प्रवृति मौलाएको, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ त्यसैले अब म चुप लागेर बस्दिन ।
यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाहीको व्यवस्था हुन्छ, हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ ।
आफ्नाले नै दुश्मन देख्ने प्रवृति नै हारको मुख्य कारण बनेको छ । वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको सभापति देउवाको आरोप छ । लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनको भनाइ छ ।
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेद्वारा आयोजित कार्यक्रममा सहभागीता जनाएकाहरुलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले तालिम प्रदान गर्ने जनाइएको छ ।