कभर स्टोरी

संविधान संशोधनको विकल्प नभएको : यादव

By Bala Adhikari

July 10, 2017

काठमाडौँ,  असार २६ । मुलुकको समस्या समाधान गर्नका लागि संविधान संशोधनको विकल्प नभएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समस्या समाधान हुनेगरी संशोधन हुनुपर्ने संसद्मा प्रस्तुत विधेयक पारित भए पनि नभए पनि समस्याको समाधान चाहिँ हुनुपर्ने बताउँदै समस्या राज्य पुनःसंरचनाको प्रदेश सीमांकनसँग जोडिएको र यसको सम्बोधन हुनुपर्ने बताए । यो विधेयकले समस्याको पूर्ण समाधान नगरे पनि ‘ट्र्याक’ खोल्नसक्नेमा उनको विस्वास छ ।

अध्यक्ष यादवले आफ्नो पार्टी संसद्मा विचाराधीन रहेको संविधान संशोधन विधेयकको पक्षमा नै मतदान गर्ने स्पष्ट पार्दै उक्त प्रस्ताव अझै अपूरो, अधूरो र अदूरदर्शी रहेकाले परिमार्जनसहित पारित गराउनु पर्नेमा पनि जोड दिए । अर्को प्रसंगमा उनले अहिले आफ्नो पार्टी सरकारमा जाने हतारमा नरहेको उल्लेख गर्दै जुन दिन हामी सरकारमा जाने आवश्यकता हुन्छ, त्यही दिन जान्छौँ, अहिले यसबारेमा सोचेका छैनौँ भने । निर्वाचनलाई राष्ट्रिय जनता पार्टीले विरोध गर्नु गलत भएको र निर्वाचनमा जनताको उत्साहवद्र्धक सहभागिताले राष्ट्रिय एकता थप बलियो भएको अध्यक्ष यादवले बताए ।