आर्थिक

नेपाली अर्थतन्त्रलाई उच्चतामा पुर्याउने विश्वास

By Bala Adhikari

September 16, 2018

काठमाडौँ, भदौ ३१ । सांसद योगेश भट्टराईले आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेपाल र चीन बीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई उच्चतामा पुर्याउने विश्वास व्यक्त गरे ।

आगामी दिनमा नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् नेपालको व्यापार सहज हुने बताउँदै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइ प्रदान गर्नेमा भट्टराई विश्वस्त छन् ।

सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने बताएका छन् । सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्नेमा जोड दिए ।

सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण चाँडो थाल्नका लागि सरकारलाई सुझाएका छन् । सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गरेका छन् भने सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षातको बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा जतिसक्दो चाँडो सार्वजानिक गर्नका लागि सरकारसँग माग गरिन् ।