काठमाडौँ, भदौ ३१ । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिज अन्तर्गतको आजको तेस्रो खेलमा नेपाली टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ ।
एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन जोड्यो । नेपालका लागि पवन सर्राफले ७८ रन जोडे ।
जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन जोडेका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए ।
बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २/२ विकेट लिएका थिए ।