कभर स्टोरी

मौलिक हकसँग सम्बन्धित सात विधेयक पारित

By Bala Adhikari

September 16, 2018

काठमाडौँ, भदौ ३१ । आज बसेको राष्ट्रियसभाको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकबाट पारित गरिएको हो ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’ लाई बैठकले पारित गरेको छ ।

यसैगरी कृषि तथा पुशपक्षी विकासमन्त्री चक्रपाणि खनालद्वारा प्रस्तुत ‘खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५’ र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको ‘आवासको अधिकार सम्बन्धी विधेयक, २०७५’ पारित भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘ भूमि सम्बन्धी(सातौँं संशोधन) विधेयक, २०७५’ पनि सो बैठकले पारित गरेको छ ।