कभर स्टोरी

आवश्यक जनशक्ति उत्पादन गरेमा एक बर्षमा गुणात्मक परिवर्तन : प्रम ओली

By Bala Adhikari

September 16, 2018

काठमाडौँ, भदौ ३१ । सुदूरपश्चिमलाई सुन्दर, विकसित र समृद्ध बनाउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्रमा गुणात्मक परिवर्तन भइसक्ने प्रस्ट पारेका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासोका विषयमा छानबिन गर्नका लागि दुई समिति गठन गरेका छन् ।

विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासोका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो ।

दुवै समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगन गरिएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सुविविका सहकुलपति गिरिराजमणि पोखरेलले सुविविले प्रदेश नंं ७ मा गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा विकास गरिने जनाए ।