कभर स्टोरी

एकल जातीय आधारमा संघीय राज्य बन्न नसक्ने : पौडेल

By Bala Adhikari

September 21, 2018

लिस्बन, असोज ५ । राजनीतिक संघर्षबाट प्राप्त भएको उपलब्धिहरु लोकतन्त्र र संघीयतालाई जोगाएर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलद्वारा बिहीबार लिस्बनमा आयोजित नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमा बोल्दै उनले कांग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने बताए ।

नेता पौडेलले भने– मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक संघर्ष गरेँ, राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।

मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको बताए । देशमा संविधान र संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै उनले एकल जातीय आधारमा संघीय राज्य बन्न नसक्ने विचार प्रस्तुत गरे ।

पार्टीले चुनावमा भोग्नुपरेको हारको समीक्षा हुनुपर्ने भन्दै उनले चुनावमा कांग्रेसले हारे पनि सिद्धान्तको विजय भएको प्रस्ट्याए ।

पार्टी नेतृत्वबाट भएका कमी कमजोरी वा गल्ति सुधारेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिलाई निर्मूल पार्दै पार्टीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै नेता पौडेलले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा आर्जन गरेको ज्ञान, सीप, कला र पूँजीलाई आफ्नै देशमा ल्याएर उपयोग गर्न प्रवासी नेपालीलाई अनुरोधसमेत गरेका छन् ।