कभर स्टोरी

सातवटै प्रदेशमा काँग्रेसले राय सुझाव संकलन गर्ने

By Bala Adhikari

September 21, 2018

काठमाडौँ, असोज ५ । संशोधित विधानका सम्बन्धमा नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले सातै प्रदेशमा राय तथा सुझाव संकलन गर्ने भएको छ ।

मुलुक संघीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यस अनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव लिन लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, संघीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव संकलन गर्न लागेको हो ।

प्रदेश ६ र ७ को एक/एक स्थान र अरु प्रदेशको दुई/दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले बताए । प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौँ र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ ।

समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई/दुई जना सदस्य परिचालन गरेको छ । प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई परिचालन गरेको छ ।

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव लिइसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिम रुप दिने गृहकार्य भइरहेको समितिका संयोजक खड्काले बताए । संशोधित विधानलाई दशैँ र तिहारको बीचमा केन्द्रीय समितिमा बुझाउने तयारीसमेत भइरहेको छ ।

केन्द्रीय समितिले विधानको बारेमा छलफल गरी मङ्सिरमा हुने महासमिति बैठकमा राख्नेछ । संविधानले दिएको अधिकार अनुसार पार्टीको विधानलाई लैजानका लागि काँग्रेसले महिलाको अधिकारलाईसमेत स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागेको छ ।

काँग्रेसले गाउँ टोल समिति, वडासमिति, पालिका समिति, प्रदेश क्षेत्र समिति, संघीय निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ समिति रहने गरी विधान संशोधनको प्रक्रिया अघि बढाएको छ । समितिको बैठकमा पूरै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने विषयमा सबैको सहमति जुटेपनि कति सदस्य बनाउने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन ।

हाल काँग्रेसमा छ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ । युवालाई पार्टीभित्र आकर्षित गर्नका लागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका १५ प्रतिशत युवालाई समेट्नुपर्ने विषयमासमेत समितिमा छलफल भइरहेको छ । सदस्यता वितरणका सवालमा पनि बैठकमा फरक/फरक विचार प्रस्तुत भएका छन् ।

केही सदस्यले साधारण, क्रियाशील, विशेष हुँदै सम्मानित सदस्य बनाउनुपर्ने कुरा उठाइरहँदा केही सदस्यले भने निर्वाचनको मुखमा बाहेक अरु जुनसुकै बेला पनि सदस्यता लिन सकिने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।