आर्थिक

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण चाँडो गर्नुपर्ने : मन्त्री अधिकारी

By Bala Adhikari

September 21, 2018

भक्तपुर, असोज ५ । २०७२ सालको भूकम्प गएको तीन बर्ष वितिसक्दा पनि पुननिर्माणको कामले भने अझै पूर्णता पाउन सकेको छैन । उक्त भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण जतिसक्दो चाँडो गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन् ।

पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले आज विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा बोल्दै उनले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्ड अनुसार निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री अधिकारीले ढुङ्गेधारासम्मको बाटो र चाँगुनारायण मन्दिरमा बन्न बाँकी रहेको चौघेरा सत्तलको पुनःनिर्माण चाँडो गर्न मन्त्रालयलये पहल गर्ने आश्वासन दिएका छन् । उनले भक्तपुर जिल्लाका प्रत्येक सरकारी कार्यालयले यस मन्दिरको पहिला र अहिलेको तस्वीर राख्नुपर्ने सुझाएका छन् ।

जनस्तरको आयआर्जनमा मद्दत पुग्ने गरी स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनु पर्ने मन्त्री अधिकारीको भनाइ छ । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्पदाको पुनःनिर्माण छिटो गर्न मन्त्रालयले पहल गरिरहेको जनाएका छन् ।

चाँगुनारायण–४ का वडाध्यक्ष बुद्धिलाल महर्जन यहाँको चौघेरा सत्तल पुनःनिर्माण नहुँदा तीर्थयात्रीलाई बस्ने ठाउँ नभएको बताए । पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहालले काठ अभावका कारण पुनःनिर्माणमा समस्या आइरहेको बताए ।

भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माण सकेपछि सरकारी पूजासहित मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले तान्त्रिक एवं धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको थियो ।