आर्थिक

जलविद्युत् आयोजनाको निर्माणको काम एक हप्तादेखि बन्द

By Bala Adhikari

September 23, 2018

म्याग्दी, असोज ७ । निर्माणधीन अवस्थामा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणको काम विगत एक हप्तादेखि बन्द छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग गर्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको उक्त आयोजनाको बाँध र सुरुङ निर्माणको काम बन्द गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माणको काम बन्द भएको हो ।

शिखका बासिन्दाले प्रस्तावित अपर घारखोला जलविद्युत् आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडक अन्तर्गत घारखोलामा मोटरेबल पुल बनाउनुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमा प्रतिनिधित्व हुनुपर्नेलगायतका माग गर्दै संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेका छन् ।

आयोजनाले विगतमा पटक–पटक प्रतिबद्धता गर्दै आए पनि कार्यान्वयन नगर्नाले बाध्य भएर अवरोध गर्नुपरेको संघर्ष समितिका संयोजकसमेत रहेका शिखका वडाध्यक्ष दिनेश पुनको भनाइ छ । वि.सं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण थालेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमाक्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ निर्माण गरेको छ ।

घारको बिरौटादेखि बाँधस्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवासस्थलका लागि पूर्वाधार तयार गरेको छ ।

तीन किलोमिटर सुरुङ रहने सो आयोजनाको विद्युत गृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ । रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कूल लागत अनुमान गरिएको उक्त आयोजनाको क्षमता ८.३ मेगावाटबाट वृद्धि गरेर १४ मेगावाट कायम गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दा र आयोजना प्रर्वद्धकबीच छलफल गरी निर्माण कार्यमा भएको अवरोध हटाएर काम शुरु गर्न पहल जारी राखिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनाए ।