कभर स्टोरी

‘दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने’

By Bala Adhikari

September 23, 2018

काठमाडौं, असोज ७ । बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

विमानस्थल निर्माणको प्रक्रिया मुलुकको आवश्यकताले अगाडि बढेको भन्दै उनले नकारात्मक बहस नगर्नका लागि अनुरोध गरेका छन् । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले धान्न नसक्ने भएकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको मन्त्री बस्नेतले जनाएका छन् ।

विमानस्थल निर्माणबारे केहीले सकारात्मक धारणा राखेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उनले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफूहरु सचेत र स्पष्ट रहेको भन्दै मन्त्री बस्नेतले भने– विमानस्थल बन्नुपर्छ, त्यो न्यूनतम क्षतिमा हुनुपर्छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित कार्यक्रममा बोल्दै उनले कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा वन तथा वातावरण मन्त्रालय र सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।

विमानस्थल निर्माणबारे मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच छलफल चलिरहेको जनाउँदै उनले दुई मन्त्रालयबीच कुनै विमति नरहेको प्रस्ट पारे । उनले भने– एउटा मन्त्रालयको एउटा र अर्को मन्त्रालयको अर्को धारणा छैन, हाम्रो समान धारणा छ, विमानस्थल बन्नुपर्छ ।

विमानस्थल निर्माण प्रभावित पार्ने नियतका साथ तर्क गर्नेलाई सरकारले सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । तर, सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले जनाए ।

फरक प्रसंग निकाल्दै मन्त्री बस्नेतले वन तथा वातावरण संरक्षणको महत्वबारे जनस्तरमा जानकारी गराउन सकियो भने त्यति नै वातावरणीय परिवर्तनका दुष्प्रभाव सामना गर्न सकिने विचार प्रस्तुत गरे ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटना परी तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको निधन भएको दिनको सम्झनामा वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ ।