कभर स्टोरी

देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुट्न आग्रह

By Bala Adhikari

September 24, 2018

चितवन, असोज ८ । पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अगाडि बढ्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको उद्घाटन गर्दै उनले आज जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र रुपमा गरिनुपर्नेमा जोड दिँदै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताए ।

उनले आफ्नो जिल्लालाई देशकै नमूना जिल्लाको रुपमा चिनाउने गरी विकासमा जुट्नका लागि सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।  सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।