कभर स्टोरी

कांग्रेसले विगतका आफ्नै निर्णयलाई विरोध गरिरहेको : नेम्वाङ

By Bala Adhikari

September 27, 2018

इलाम, असोज ११ । प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आरोप लगायका छन् ।

आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने– मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो, त्यही दस्तावेज पनि कांग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।

अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउनका लागि विपक्षीहरू निकै अग्रसर देखिएको भन्दै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी बलियो हुनुपर्ने विचार व्यक्त गरे ।

नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको उनको दाबी छ । हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे ।

उनले भने– तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानून अनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।

उनले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर भएको बताउँदै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जनाएका छन् । नेम्बाङले भने– संविधानको विरोध गर्ने पार्टी राजपा हो तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो ।

उनले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको प्रस्ट पारे ।

अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्नहुन्छ, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ, यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ? उनले प्रश्न गरे ।