आर्थिक

धार्मिक स्थलको भेटी व्यवस्थापन निर्देशिका कार्यान्वयन हुन सकेन

By Bala Adhikari

September 27, 2018

काठमाडौँ, असोज ११ । धार्मिक स्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बितिसत्दासमेत कार्यान्वयन हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिक स्थलका हकमा यस्तो निर्देशिका लागू हुने जानकारी गराएको छ । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ ।

मन्त्रालयले वि.सं २०७३ कात्तिक २ गते निर्देशिका जारी गरेको थियो । धार्मिक स्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने उक्त निर्देशिकामा बताइएको छ ।

निर्देशिका आए लगत्तै कार्यान्वयनका लागि तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले बताइन् ।

पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको र अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले बताएको छ ।

वि.सं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषले बनाएको भेटी व्यवस्थापन नियमावलीले पशुपति क्षेत्रका अन्य मन्दिरको भेटी पारदर्शी गर्ने भनिए पनि अझै पारदर्शी भने हुन सकेको छैन ।

पशुपतिनाथको चन्दा बाकसमा हालिएको भेटी हालसम्म खर्च कटाएर रु १८ करोड कोषको खातामा रहेको लेखा शाखा प्रमुख प्रेमहरि ढुङ्गानाले बताए ।

भेटीबाट जम्मा भएको पैसाले पशुपतिनाथको नित्य, विशेष पूजा चलाउने, भट्ट, भण्डारीलगायत कर्मचारीलाई तलब खुवाउनले गरेको कोषले जानकारी गराएको छ ।