कभर स्टोरी

यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाल पकिस्तानसँग भिड्दै

By Bala Adhikari

September 28, 2018

काठमाडौँ, असोज १२ । नेपाली यू–१८ महिला टोली साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा पाकिस्तानसँग खेल्ने छ । नेपाल आज भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा पाकिस्तानसँग भिड्दैछ ।

समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७ः१५ बाट शुरु हुनेछ । समूह ‘ए’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । दोस्रो खेलमा नेपालले आगामी मङ्गलबार बङ्ङ्गलादेशसँग भिड्नेछ । समूहको दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, समीक्षा घिमिरे, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा रहेका छन् ।

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन् ।