काठमाडौँ, असोज १७ । काठमाडौंको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि काठमाडौँ महानगरपालिकाल एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाल प्रहरीले यसअघि कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले काठमाडौंका अन्य स्थानमा पनि क्यामेरा जडान गर्ने तयारी गरको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।
कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै सहकार्य गरेर नै काम गरिने जनाएका छन् । एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच जडानको लागि कार्यदल बनिसकेको छ ।
]यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ । त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ ।
नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्ने कुरा थाहा पाउनका लागि सहज हुने र समयमा काम नगरेमा कारवाही गर्न सजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।
सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि बताइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ ।
सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ । उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत काम अघि बढाइने छ ।
दशैँअगाडि नै काम थाल्ने भनिए पनि दुई पक्षबीचको आन्तरिक छलफल नसकिएकाले गर्दा दशैँलगत्तै प्रभावकारी रुपमा काम अगाडि बढाइने जनाइएको छ ।