कभर स्टोरी

घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्ने : गृहमन्त्री थापा

By Bala Adhikari

October 03, 2018

घरेलु हिंसा अन्त्य गर्नका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान थालिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान थाल्ने जनाएका हुन् ।

देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको जनाउँदै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान चलाउने बताए ।

घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको बताउँदै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिएका छन् । घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

गृहमन्त्री थापाले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियान अन्तर्गत महत्वपूर्ण काम भएको प्रस्ट्याएका छन् । सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए ।

गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मक रुपमा वृद्धि भएको उनको भनाइ छ । निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको गृहमन्त्री थापाले बताएका छन् ।

उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको उल्लेख गरेका छन् । पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको बताउँदै उनले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर लागि परेको बताएका छन् ।

छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उनले बताएका छन् । यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनको भनाइ छ ।

फरक प्रसङ्ग निकाल्दै उनले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको जनाएका छन् । किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ, सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ– उनले भने ।

साना ठूला माछा जालमा आउन बाँकी रहेको बताउँदै उनले जबसम्म तिनीहरु कानूनको दायराभित्र आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने जनाएका छन् ।