बुटवल, असोज १७ । सम्पूर्ण तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।
आज प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमा बोल्दै उनले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको सुरक्षा व्यवस्था बिग्रँदा सिङ्गो मुलुकको सुरक्षा अवस्था नै प्रभावित हुने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताएका छन् । उनले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको भन्दै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायराभित्र ल्याउने माध्यम भएको प्रस्ट पारे ।
नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ, तीन ठूला राजनीतिक क्रान्ति हँुदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि छ मुख्यमन्त्री पोखरेलले भने– अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन ।
सीमा सुरक्षाका लागि परिचालित सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा संघ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विकले संघीयता कार्यान्वयनको क्रममा संस्थागत रुपान्तरणको अवस्थामा शान्ति सुरक्षा दुरुस्त राख्न समन्वयात्मक वातावरण बनाउने, सुरक्षा योजना तयार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र प्रदेश र स्थानीय निकायबीच समन्वय र सहजीकरणको माहोल सिर्जना गर्ने बैठकको उद्देश्य रहेको जनाए ।