कभर स्टोरी

कृषिलाई प्राथमिकतामा नराखे देशमा दुर्दशा शुरु हुने : कृषिमन्त्री खनाल

By Bala Adhikari

October 04, 2018

सिन्धुली, असोज १८ । कृषिमन्त्री चक्रपाणि खनालले राष्ट्रको प्राथमिकतामा कृषि पेशा अहिलेसम्म पर्न नसकेको बताएका छन् ।

उनले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

नेपालको सन्र्दभमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म रोजगारीको सिलसिलामा भौतारिँदै लाखौँ संख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताएका छन् । अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनले बताए ।

सरकार विस्तारै परम्परागत खेती प्रणाली फेर्न, जमीनको व्यवस्थापन गर्ने, कृषिमा आधुनिकीकरण गरी व्यावसायिकरण गर्न सामूहिक रुपमा खेती प्रणालीको विकास गर्न र अनुदानलाई व्यवस्थित गर्न लागि परिरहेको छ– उनले भने ।

उनले अर्गानिक उत्पादन गर्न सरकारले बीउबिजन, कृषि प्राविधिकलगायत समग्र रुपमा सहयोग गर्न पहिला अर्गानिक कृषिउपज उत्पादनलाई ६ नम्बर प्रदेशलाई छनोट गरेको र प्रदेश सरकारसँग सहकार्य भइरहेको जनाएका छन् ।