कभर स्टोरी

सरकारले पुराना विद्यालयलाई संरक्षण गरिने : पोखरेल

By Bala Adhikari

October 09, 2018

काठमाडौँ, असोज २३ । पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

आज महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयको आयोजित ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले गर्दा तिनको संरक्षण गरिने उनको भनाइ छ ।

सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन गर्दै मुलुकको शिक्षा प्रणालीमा देखापरेका समस्या सुल्झाउनका लागि सरकार लागिपरेको उनले जनाएका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिने बताउँदै उपप्रधानमन्त्री पोखरेलले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्दै सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने सरकारको सोच रहेको जनाएका छन् ।

काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसीले विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि पहल गर्ने जनाउँदै उनले यस वडालाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने तयारी भइरहेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरिने बताए । सन् २००५ मा स्थापित कक्षा १२ सम्मको सो विद्यालयमा करीब एक हजार २०० विद्यार्थी अध्ययरत छन् ।

त्यस अवसरमा विभिन्न अतरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।