आर्थिक

श्रमिकको योगदानका आधारमा सामाजिक सेवा

By Bala Adhikari

October 09, 2018

काठमाडौँ, असोज २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी उनीहरुले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र कतारले खेल मैदान निर्माण गर्न भित्र्याइएका धेरै विदेशी श्रमिकमाथि दवावपूर्ण कार्य गर्नु नहुनेमा उनले जोड दिए ।

मन्त्री विष्टले आगामी दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने प्रष्ट पारेका छन् । विष्टले योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गरिने जानकारी गराउँदै योग्य र दक्ष युवा मात्र वैदेशिक रोजगारीलाई उपयुक्त हुने बताएका छन् ।