कभर स्टोरी

प्रत्येक निकायमा सुधारको आवश्यकता : प्रधानन्यायाधीश मिश्र

By Bala Adhikari

October 09, 2018

काठमाडौँ, असोज २३ । सम्पूर्ण निकायमा सुधारको आवश्यकता हुने भएकाले सञ्चार माध्यमलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अनुरोध गरेका छन् ।

आज संवैधानिक तथा कानून पत्रकार मञ्चद्वारा बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित चियापन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमासमेत हानी पुगेकाले आगामी दिनमा यस्ता मुद्दामा समाचार नलेख्न अनुरोध गरे ।

प्रत्येक निकायमा सुधारको आवश्यकता औंल्याउँदै उनले न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानून व्यवसायी र सञ्चारमाध्यमको सहयोगको खाँचो परेको बताए ।

न्यायलयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायलयले काम गरिरहेकोसमेत स्पष्ट पार्दै उनले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला रहेको प्रस्ट पारे ।

मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायलयमा धेरै उतार चढाव आउने गरेको बताउँदै जनताले न्यायको अनुभूति गर्ने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए ।

चियापन समारोहमा प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीलगायत अन्य पदाधिकारी, सर्वोच्च बार एशोसिएनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र पत्रकार लगायतले उपस्थिति जनाएका थिए ।