इटहरी, साउन १ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको भन्दै धरान पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका विद्यार्थी संगठनले आन्दोलित गरेका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी दुई संगठनका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीको ढाड सेक्ने गरीे शुल्क बृद्धि गरेको फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका छन् ।
नेवि संघका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण शिक्षा शुल्क वृद्धिको विरोधमा अनशनमा बसेका हुन् । एकसाताअघि संस्थान अन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आंगिक क्याम्पसमा शुल्क बढेको विषयमा पत्राचार गरेपछि विद्यार्थी आन्दोलेनमा लागेका हुन् ।
त्रिविको नियम विपरीत इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेकाले आफूहरु आन्दोलित हुनुपरेको अनशनमा बसेका अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपानको भनाइ छ ।