जिल्ला-विशेष

प्राविधिक अभावमा एक्सरे मेशिन संचालनमा आउन सकेन

By Bala Adhikari

October 26, 2018

दमक, कात्तिक ९ । झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन चलाउने दक्ष प्राविधिकको अभावका कारण नौ वर्षदेखि एउटा मेशिन थन्किएर बसेको छ ।

उक्त मेशिन सञ्चालन नआउँदा सेवाग्राही मर्कामा परेका छन् । एक्सरे मेशिन त्यसरी थन्किएर सञ्चालनमा नआउँदा स्वास्थ्योपचारका लागि त्यहाँ आउने बिरामीलाई करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिनुपर्ने बाध्य छ ।

जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित सो स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यका साथ वि.सं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

मेशिन चलाउने रेडियोग्राफरको अभावमा नियमित सञ्चालनमा ल्याउन नसकिएको केन्द्रकी इन्चार्ज डा विद्या पोखरेलको भनाइ छ । उनले केन्द्रमा दरबन्दी थप नगरिँदा उक्त मेशिन संचालनमा ल्याउन नसकिएको बताइन् ।