कभर स्टोरी

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा विवादले नयाँ निर्माणस्थल खोज्न शुरु

By Bala Adhikari

October 26, 2018

काठमाडौँ, कात्तिक ९ । अन्तर्राष्ट्रिय रङ्गशाला बनाउनका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थल खोज्न थालिएको छ ।

पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा रङ्गशाला निर्माणका लागि युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरेका छन् ।

सूर्यविनायक नगरपालिका–८ को सिपाडोलको तौडोल, सूनपा–४ को चित्रपुर तथा सूनपा–९ पलासे महत गाउँको डोलमा टोलीले स्थलगत अध्ययन गरेको हो । सूर्यविनायक नगरपालिका–१० र चाँगुनारायण नगरपालिका–९ कै भकारीमुलमा विगत लामो समयदेखि मन्त्रालयले अध्ययन तथा योजना बनाई प्राविधिक टोली खटाए पनि नेपाल मजदूर किसान पार्टीको विरोधका कारण स्थान खोजी गरिएको हो ।

मन्त्री विश्वकर्माले तीन स्थानमा प्राविधक टोली खटाई उत्तम स्थानको छनोट गरी तत्काल निर्माण कार्य अघि बढाइने बताए । उनले रङ्गशालाको स्थान टुङ्गोमा पुर्याइ निर्माण प्रक्रिया तत्काल थाल्नुपर्नेमा जोड दिए ।

सांसद बस्नेतले नेमकिपाले भकारीमूलका जनताको मात्र नभई भक्तपुरका आम जनताको विकासप्रतिको भाग्य र भविष्यमाथि खेलवाड गरिरहेको दाबी गरे ।

उनले अन्तर्राष्ट्रिय रङ्गशाला, कबर्डहल, सभागृह, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, वीर अस्पतालजस्ता राष्ट्रिय गौरवका आयोजना भक्तपुरमै बनाएर छाड्ने प्रतिबद्धता जनाएका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले खेतीयोग्य जमीन तथा बस्ती उठ्ने गरी निर्माण गर्न लागिएको रङ्गशाला निर्माण गर्नु नहुने बताए ।