जिल्ला-विशेष

नारायणपुरवासीले शुद्ध पानी पिउन पाउने

By Bala Adhikari

October 28, 2018

दाङ, कात्तिक ११ । नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले थालिएको नारायणपुर खानेपानी योजना निर्माणको काम सकिएको छ ।

निर्माणको काम सकिएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी पिउन पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांश मानिसहरुले अहिलेसम्म कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सकिएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले बताए ।

उक्त योजना अन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, पानी छान्ने मसिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको रिजर्भ ट्याङ्की निर्माण र पाइप लाइन विस्तारलगायतको काम गरिएको पनि अध्यक्ष रजौरेले जनाएका छन् ।

सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाँैले वि.सं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट प्राप्त गरेको थियो ।

तोकिएको समयभित्र गुणस्तरीय काम गरिनुपर्ने भन्दै त्यहाँका उपभोक्ताहरुले निर्माण कम्पनीलाई यसअघि धेरै पटक दबाब दिँदै आएका थिए ।

सो खानेपानी योजनाबाट नारायणपुर क्षेत्रका तीन हजार २९ घरघुरीका १४ हजारभन्दा बढीले पानी पिउन पाउने भएका छन् । केही दिनपछि धाराबाट पानी वितरण गरिने भएको छ ।